Pages

Sunday, September 20, 2015

थारू-मधेसी समुदायमा उत्साह

थारू-मधेसी समुदायमा उत्साह
नेपालगन्ज- पहिलो संविधानसभा विघटन हुँदा नेपालगन्ज उपमहानगरपालिका–१० का विजयकुमार बैश्य खिन्न थिए। राजनीतिक दलको अकर्मण्यताले सात दशकदेखि मुलुकवासीको चाहना तुहिएपछि उनलाई चिन्तित तुल्याएको थियो। त्यतिबेला उनी राजनीतिक दलको व्यवहार र आचरणप्रति रुष्ट थिए। उनलाई लागेको थियो, संविधानसभाबाट अब मुलुकले संविधान पाउँदैन।
तर, पहिलो संविधानसभा विघटन भएको झन्डै तीन वर्षपछि उनको खुसी फर्किएको छ। २०७० मंसिरमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनको दुई वर्ष नबित्दै मुलुकले नयाँ संविधान पाउने निश्चित भएपछि भने अहिले उनमा उत्साह छाएको छ। संविधान लागू भएपछि यहाँका मधेसी, थारू, आदिवासी, जनजाति, दलित समुदायको हक, अधिकार सुनिश्चित हुने र मुलुकको विकासले गति लिनेमा उनी विश्वस्त छन्।

'ढिलै भए पनि संविधान आउने निश्चित भएको छ, यो सम्पूर्ण नेपालीका लागि खुसीको कुरा हो,' उनी भन्छन्, 'यसले सम्पूर्ण मुलुकवासीलाई खुसी तुल्याएको छ।' संविधान घोषणा हुने दिन (असोज ३ गते) संविधानको स्वागतका लागि दीपावली मनाउने तयारी गरेको उनी बताउँछन्।

संविधानको प्रक्रियाबाहिर रहेका मधेसी मोर्चालाई पनि आन्दोलन छाडेर संविधान स्वीकार्न उनले आग्रह गरे। 'अहिले आन्दोलन गर्ने बेला होइन, जनताले स्थायी शान्ति र स्थिरता चाहेका छन्,' उनले भने, 'यो नयाँ संविधानबाट मात्र सम्भव छ।'

बाँके, बैजापुरका खुसीराम चौधरी पनि संविधान आउने निश्चित भएपछि खुसी छन्। नयाँ संविधान जारी भएपछि मुलुकमा स्थायी शान्ति र स्थिरता कायम हुनेमा उनी विश्वस्त छन्। 'वर्षाैंदेखि हक, अधिकारबाट वञ्चित समुदायले नयाँ संविधान आउने निश्चित भएपछि खुसी भएका छन्,' उनले भने।

संविधान सुनिश्चित हुनु सबै समुदायका लागि सकारात्मक भएको प्रजातान्त्रिक थारू समाज दाङका अध्यक्ष लक्ष्मीमान चौधरी बताउँछन्। 'त्यसैले नयाँ संविधानको स्वागतमा सबै जुट्नुपर्छ,' उनले भने। उनले संविधानमा थारू आयोग बनाइने उल्लेख भएकाले थारूहरूको माग केही हदसम्म सम्बोधन भएको बताए। यद्यपि थारू समुदायका मागप्रति भने राज्यले चासो दिनुपर्ने उनको भनाइ छ।

बर्दियाका रिक्सा चालक धनिराम थारू पनि संविधान जारी हुने भएपछि खुसी छन्। संविधान जारी भएपछि बन्द, हड्ताल अन्त्य भएर दैनिक रिक्सा चलाउन पाइयोस् भन्ने उनको चाहना छ। 'हामीलाई मुलुकमा सुख र शान्ति चाहिएको छ,' उनले भने, 'यसमा लागि छिटो संविधान आइदिए राम्रो हुन्थ्यो।'

संविधान जारी हुने सुनिश्चित भएपछि नेकपा–माओवादीका केन्द्रीय सदस्य तथा पूर्वसभासद् इन्द्रजित थारु पनि उत्साहित छन्। यद्यपि, पहिलो संविधान सभामा जातीय, लैंङ्गिक, भाषीक लगायतका विषयमा गरेका निर्णय पछिल्लो संविधानसभाले स्वीकार्न नसकेकोमा उनले असन्तुष्टि जनाए। पछिल्लो समय संविधानका विषयमा उठेका असन्तुष्ठिलाई सम्बोधन गरिनुपर्ने उनको भनाइ छ। यसो गरे संविधानप्रति सबैको अपनत्व बढ्नेछ।

संविधान जारी हुने सुनिश्चित भएपछि कैलाली, हसुलिया–४ का सुमित चौधरी पनि उत्साहित छन्। नयाँ संविधान जारी भएपछि विकासले गति लिने र आदीवासी, जनजाति, महिला, दलित वर्गको हक, अधिकार सुनिश्चित हुने उनको विश्वास छ।

थारू र मधेसी समुदायको बाहुल्यता भएका बाँके, बर्दिया, दाङ र कैलालीका समुदायमा संविधान जारी हुने निश्चित भएपछि खुसीयाली छाएको छ। संविधानको खुसीयालीमा उनीहरूले ठाउँठाउँमा दीपावली मनाइरहेका छन्। शुक्रबार साँझ थारू र पहाडी समुदायले धनगढीमा संयुक्त दीपावली गरेका थिए।

यसैबीच, प्रदेश सीमांकन र विशेष अधिकारको विषयमा आन्दोलन चलेको कर्णाली र सुर्खेतका बासिन्दाले समेत नयाँ संविधानले शान्ति र समृद्धि ल्याउने अपेक्षा गरेका छन्। जुम्ला, बुम्रामाडीचौरका बृख कठायतले संविधान नहुँदा देशमा विभिन्नखाले विकृति मौलाएकाले त्यसको अन्त्य हुने बताए। 'नयाँ संविधान हिमाल, पहाड र तराईलाई मिलाउने गरी घोषणा गरिनुपर्छ,' उनले भने, 'त्यसपछिमात्र तराईमा सल्किएको आगोको निभ्न सक्छ।'

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक एवं अधिवक्ता दुर्गाप्रसाद सापकोटा नयाँ संविधान नेपालमात्र नभई दक्षिण एसियाकै लागि उपलव्धि हुने बताउँछन्। 'संविधानसँगै आन्दोलनको उपलब्धी पनि संस्थागत हु"दै जानेछ,' उनले भने, 'संविधान आउनु ठूलो कुरा हो, यसलाई राम्रो र हाम्रो संविधान बनाउन सबैको सकारात्मक भूमिका चाहिन्छ।'

0 comments:

Post a Comment